स्टार्टअप उद्यमीका लागि पाँच वर्षसम्म तीन प्रतिशतमा कर्जा : प्रस्ताव आह्वान
२०८२ कार्तिक २२, शनिबार १२:२८
काठमाडौ कार्तिक २२ शनिबार , स्टार्टअप उद्यम कर्जाका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नयाँ अवसर खुला गरेको छ।
यसै साताबाट प्रभावमा आउने सार्वजनिक सूचनामार्फत् प्रतिष्ठानले इच्छुक उद्यमी तथा उद्योगीहरूलाई परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो।
कार्यकारी निर्देशक उमेशकुमार गुप्ताका अनुसार छनोटमा परेका उद्यमीले ३ प्रतिशत ब्याजदरमा, ५ लाखदेखि २० लाख रुपैयाँसम्मका कर्जा ५ वर्षका लागि पाउन सक्नेछन्। छनोट प्रक्रियापछि माघ महिनाभित्रै कर्जा वितरण गर्ने लक्ष्य राखिएको छ।
प्रस्ताव पेस गर्नका लागि सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र आवेदन दिनुपर्नेछ।
स्टार्टअप एन्ड इनोभेशन फोरमकी सभापति जुना माथेमाले कर्जा उपलब्धता मात्र होइन, त्यससँगै लगानीको दीगो सुरक्षा र स्टार्टअप अनुकूल वातावरण निर्माणमा पनि राज्यले ध्यान दिनुपर्ने बताइन्।
कुन–कुन क्षेत्रमा कर्जा ?
प्रतिष्ठानले कुल पाँच प्रमुख क्षेत्रअन्तर्गत १९ प्रकारका स्टार्टअप/उद्यममा कर्जा उपलब्ध गराउनेछः
कृषि, वन तथा उत्पादनमूलक उद्यम
सूचना प्रविधि तथा डिजिटल बिजनेस
पूर्वाधार र यातायातसम्बन्धी परियोजना
सामाजिक सेवा तथा पर्यटन व्यवसाय
परम्परागत सीप, स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित उद्यम
कसले कर्जा पाउन सक्छ ?
कर्जा पाउनका लागि केही अनिवार्य मापदण्ड पूरा गर्नुपर्छ।
कार्यकारी निर्देशक गुप्ताका अनुसार उद्यमी/उद्योग दर्ता कानूनी ढाँचामा भएको हुनुपर्छ—
प्राइभेट फर्म,
साझेदारी फर्म,
कम्पनी, वा
सहकारी संस्था
दर्ता स्थान भने सरकारको तहअनुसार फरक–फरक रहनेछः
वडास्तर → वडा कार्यालय
जिल्लास्तर → लघु, घरेलु तथा साना उद्योग कार्यालय
प्रदेशस्तर → उद्योग निर्देशनालय
संघीय स्तर → उद्योग विभाग
गुप्ताका भनाइमा, दर्ता प्रक्रिया पूरा गरेर परियोजना प्रस्ताव पेश गर्ने उद्यमीलाई यस योजना अत्यन्त उपयोगी बन्न सक्छ।





