काठमाडौँ कार्तिक २२ शनिबार , प्रधानमन्त्री सुशीला कार्कीले भर्खरैको जेनजी आन्दोलनले दिएको म्यान्डेटलाई आत्मसात् गर्दै सरकार सुशासन, कानुनको शासन र निजी क्षेत्रको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

 नेपाल उद्योग वाणिज्य महासंघको ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा बोल्दै उनले “उद्योगी–व्यवसायी आर्थिक समृद्धिको जगका ढुङ्गा” भएको उल्लेख गर्दै भयमुक्त वातावरण निर्माणमा राज्य गम्भीर रहेको स्पष्ट पारिन्।

उनका अनुसार रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटनजस्ता बलिया आधार हुँदाहुँदै पनि संरचनागत कमजोरी, पुँजी पलायन र सुशासनको अभावका कारण देशले मेहनतअनुसारको फल पाउन नसकेको यथार्थ सरकारलाई स्वीकार्य छ।

प्रधानमन्त्रीले भदौको जेनजी आन्दोलनले देशलाई तीन ठूला सन्देश दिएको बताइन्—
घुसखोरी र कमिसन सह्य छैन, लुटतन्त्र स्वीकार्य छैन, र इमानदार उद्यमीलाई प्रताडित गर्ने अवस्था अब चल्दैन। 

आन्दोलनको आडमा केही समूहले उद्योग व्यवसायमा गरेको क्षतिप्रति उनी मर्माहत भएकी भनेका गर्दै उनले प्रभावित निजी क्षेत्रलाई राहत, क्षतिपूर्ति र मनोबल जगेर्ना गर्न सरकार कुनै पनि कसर बाँकी राख्ने छैन भन्दै विश्वास दिलाइन्।

सुशासनलाई नै सामाजिक न्याय र आर्थिक वृद्धिको पहिलो सर्त ठहर गर्दै प्रधानमन्त्री कार्कीले नीतिगत जटिलता हटाउने, पुँजीगत खर्च तीव्र बनाउने, लगानीमैत्री वातावरण बनाउने, र बैंक तथा वित्तीय क्षेत्रको स्थिरताका लागि कडा कदम चालिएको बताइन्।

उनले सरकार, समाज, उद्यमी–व्यवसायी र श्रमिकको सहकार्यलाई “देश विकासको इन्जिन” अभिव्यक्त गर्दै अर्थतन्त्र उठ्न निजी क्षेत्रको मनोबल उठ्नु अनिवार्य रहेको उल्लेख गरिन्।

कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई देशको स्थिरतासँग जोड्दै स्वच्छ, सुरक्षित र सफल चुनावका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताइन्।

अन्त्यमा उनले सबै उद्यमी, किसान र युवालाई “डराउने होइन, आत्मविश्वासका साथ अघि बढ्ने” आह्वान गर्दै भनिन् “हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन।”