जेन–जी फ्रन्टको केन्द्रीय तथा प्रदेश संरचना विस्तार, सुशासन र डिजिटल स्वतन्त्रतामा जोड
२०८२ कार्तिक २३, आईतवार ११:४०
काठमाडौं, २३ कात्तिक आइतबार , नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौमा देशभर देखिएको ‘जेन–जी विद्रोह’लाई संस्थागत गर्दै केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ। फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा चलाइरहेको अभियानलाई अझ सुदृढ बनाउन नयाँ नेतृत्व चयन गरिएको जनाएको छ।
फ्रन्टका अनुसार, हालै सम्पन्न केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको छ। यसले देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई एकीकृत रूपमा सहजीकरण तथा समन्वयमा ल्याउने उद्देश्य राखिएको छ।
बैठकले जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिमा संविधान प्रसाईलाई केन्द्रीय विभागीय सदस्यका रूपमा चयन गरेको छ।
त्यस्तै, प्रदेश सम्पर्क व्यक्तिमा प्रदेश १ मा रोहन दंगाल, मधेश प्रदेशमा मो. नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन बिष्ट तोकिएका छन्।
फ्रन्टले यी निर्णयसँगै भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताको विरोधमा चलाइएको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ। संगठनले देशभरका युवालाई डिजिटल अधिकार, सुशासन र जिम्मेवार नागरिकताको पक्षमा एकजुट गराउने लक्ष्यसमेत राखेको छ।




