पूर्व सहसचिव कार्की ८ दिनका लागि अतिरिक्त हिरासतमा
२०८२ कार्तिक २३, आईतवार १७:०८
काठमाडौं कार्तिक २३ आइतबार , नेपाल ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्कीमाथि सुरु भएको अनुसन्धान अझै गहिरिने भएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
६६ वर्षे अवकाशप्राप्त सहसचिव कार्कीलाई प्रहरीले शुक्रबार चितवन, भरतपुर–१५ बाट पक्राउ गरेको थियो। ट्रस्टको काठमाडौंबाट दर्ता कायम जग्गा ३० वर्षका लागि लिजमा दिँदा संस्थालाई नोक्सानी हुनेगरी भाडा सम्झौता मिलाएको आरोप उनिमाथि लागेको छ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार, भूमिलिज सम्झौता प्रक्रियामा ठगी र आपराधिक विश्वासघात समेतको सम्भावित संलग्नतामा अनुसन्धान तीव्र पारिएको छ।
नेपाल ट्रस्टको नाममा रहेको जग्गा ‘बद्नियतपूर्वक’ लिजमा दिएको शंका बलियो बन्दै गएपछि कार्की पक्राउ परेका हुन्। प्रहरीले घटनालाई संस्थागत सम्पत्तिमाथि भएको दुरुपयोगका रूपमा हेरेर विस्तृत परीक्षण अगाडि बढाइरहेको छ।




