शिक्षक–प्राध्यापकका संगठन अमान्य, राजनीतिक गतिविधि गरे कडाइ : शिक्षा मन्त्री पुन
२०८२ कार्तिक २३, आईतवार १७:२३
काठमाडौं कार्तिक २३ आइतबार , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा विश्वविद्यालय कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएका छन्।
आइतबार मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उनले पछिल्ला दिनमा शिक्षक महासंघ, प्राध्यापक संघलगायतका संगठनहरूले पेशागत दायित्वविपरीत राजनीतिक क्रियाकलाप बढाएको गुनासो आएको उल्लेख गरेका छन्।
मन्त्री पुनका अनुसार सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक वा कर्मचारीले आचरण तथा कर्तव्यसँग सम्बन्धित कानुन स्पष्ट रूपमा पालना गर्नुपर्नेछ। कुनै पनि पेशागत ऐनले उनीहरूलाई “सौदाबाजीबाहेक” अन्य राजनीतिक गतिविधिको अधिकार नदिएको उल्लेख गर्दै उनले यस्ता गतिविधि भए कानुनी कारबाहीमार्फत बर्खास्तगीसम्मको प्रक्रिया लागू हुने चेतावनी दिए।
यस्तै, मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा भ्रातृ वा शुभेच्छुक संगठनका रूपमा उल्लेख हुने शिक्षक तथा कर्मचारी संघलाई मन्त्रालयले अबदेखि मान्यता नदिने निर्णय गरेको जानकारी पनि दिए।
शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा स्थापना गरिएको स्मरण गराउँदै मन्त्री पुनले विद्यालय तथा विश्वविद्यालयभित्र शान्ति वातावरण विपरीत गतिविधि पाए प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही हुने चेतावनी दिएका छन्।




