काठमाडौं  कात्तिक २५ मंगलबार , देशमा सक्रिय जेनजी आन्दोलनको ऊर्जा अब औपचारिक राजनीतिक संरचनामा प्रवेश गरेको छ। मंगलबार अधिवक्ता रमणकुमार कर्णको संयोजनमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दर्ता गराएको हो।

कर्ण—जो वर्तमानमा सर्वोच्च अदालत बार एशोसिएसनका सचिव पनि हुन्—ले सुरुवाती चरणमा संयोजकको भूमिका सम्हाले पनि पार्टीको मूल नेतृत्व जेनजी पुस्ताले नै सम्हाल्ने प्रष्ट पारे।

“कानुनी प्रक्रिया सहज बनाउन म काहीँबेर संयोजनमा छु। केही दिनमै बृहत भेलाबाट नयाँ नेतृत्व जेनजीकैबाट चयन हुन्छ,” कर्णको भनाइ।

पार्टीमा अहिले सदस्यहरू मात्र समावेश गरिएका छन्, जसमा जेनजी आन्दोलनकारीदेखि घाइते युवासम्म रहेका छन्।
गठनमा सहभागिता जनाउनेमध्ये पोखराकी जेनजी नेतृ विप्लवी न्यौपाने, जस्मिन ओझा, नागरिकता अभियन्ता इन्द्रजीत साफी, साथै परिवारसहितको सहभागितामा गणेण चौलागाईं र कमल सुवेदी पनि उल्लेखनीय छन्।

जेनजी आन्दोलनलाई संस्थागत रूप दिन खोजिएको यो अभियानले नयाँ पुस्ताको राजनीतिक हस्तक्षेपलाई नयाँ मोड दिन सक्ने अपेक्षा गरिएको छ।