काठमाडौ कार्तिक २५ मंगलबार ,मधेस प्रदेशमा राजनीतिक तापक्रम चुलिएको बेलामै नयाँ मुख्यमन्त्री सरोज यादवले आज शपथ लिएर पदभार सम्हालेका छन् । तर पदभार ग्रहणको उत्साह बाक्लिन नपाउँदै सर्वोच्च अदालतको आदेशले उनलाई ‘कामचलाउ’ सीमा भित्रै थन्क्याइदिएको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत, संरचनात्मक वा आर्थिक प्रतिबद्धता जनाउने निर्णय तत्काल नगर्नू भन्ने कडा निर्देश दिएको हो।

 अदालतले चलिरहेको विवाद र दायर भएका मुद्दाको वस्तुस्थिति निस्चित नहुँदासम्म मुख्यमन्त्रीले केवल अत्यावश्यक दैनिक प्रशासनिक काम मात्रै गर्न पाउने स्पष्ट गरेको छ।

यसबीच, प्रदेशसभाभित्रको तनाब, बाहिरका प्रदर्शन र पार्टीभित्रको असन्तुष्टिमध्यै यादवले आज पदभार ग्रहण गरेका थिए। तर अदालतको ताजा आदेशसँगै उनको नेतृत्व अब पूर्ण अधिकारसहित अघि बढ्ने कि अस्थायी सीमाभित्रै थुनिएर रहने—यो सबै आगामी न्यायिक प्रक्रियाले नै टुंगो लगाउनेछ।