कोटेश्वर फ्लाइओभर : १२ अर्बमै सम्भव योजना ४० अर्बमा धकेलियो, ३४ अर्ब ऋण थपिँदै
२०८२ कार्तिक २६, बुधबार १०:३९
काठमाडौं कार्तिक २६ बुधबार , राजधानीको ट्राफिक समस्या समाधानका नाममा कोटेश्वरमा सुरुङमार्गसहितको फ्लाइओभर बनाउन सरकारले झण्डै ४४ अर्ब रुपैयाँ लागतको योजना अघि बढाएको छ।
विज्ञहरूले यो रकम १२ अर्बमै सम्भव हुने काममा चारगुणा बढी खर्च भएको भन्दै आपत्ति जनाएका छन्।
जाइकाले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार परियोजनाको कुल लागत ४४ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ३४ अर्ब ४९ करोड जापानी येन (३२ अर्ब रुपैयाँ) ऋण सहयोगका रूपमा आउनेछ।
भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरूले यो लागत “जाइकाको ठेकेदारसँगको मिलेमतोमा कृत्रिम रूपमा बढाइएको” दाबी गरेका छन्।
पूर्वसचिव तुलसी सिटौलाका अनुसार, “यो काम १२ अर्बमै सकिन सक्थ्यो, तर ऋण लिएर ४० अर्बभन्दा बढी खर्च गर्नु देशकै घाटा हो।”
वर्तमान योजना अनुसार तीनकुनेदेखि जडिबुटीसम्म ६६४ मिटर फ्लाइओभर, ७०० मिटर सुरुङमार्ग र २३८ मिटर थप फ्लाइओभर बन्नेछ। तर विज्ञहरू भन्छन् — “दुई किलोमिटरको फ्लाइओभरमा ४० अर्ब खर्च गर्नु भन्दा सार्वजनिक यातायात सुधार्नुपर्छ।”




