वसन्तपुरमा कालभैरवलाई ३२ प्रकारका व्यञ्जन अर्पण गरी विशेष पूजा सम्पन्न
२०८२ कार्तिक २६, बुधबार १९:२१
काठमाडौं कात्तिक २६ बुधबार ,राजधानीको ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थल वसन्तपुरस्थित हनुमानढोका दरबार स्क्वायरमा आज विशेष विधिपूर्वक कालभैरवको पूजा सम्पन्न गरिएको छ । प्राचीन कालदेखि निरन्तर चलिआएको परम्पराअनुसार यस वर्ष पनि कालभैरवलाई ३२ प्रकारका विविध व्यञ्जन अर्पण गरी विशेष पूजा गरिएको हो ।
भैरवस्थान परिसरमा बिहानैदेखि भक्तजनहरूको उपस्थितिसँगै पूजा, भजन, र धार्मिक अनुष्ठानको माहोल बनेको थियो । कालभैरवको मन्दिरमा परिकार अर्पण गर्न आएका भक्तजनले प्रसाद ग्रहण गर्दै आशीर्वाद लिएका थिए
हनुमानढोका कालभैरव सेवा समितिका प्रमुख राजन महर्जनका अनुसार ३२ प्रकारका व्यञ्जन — मिठाई, फलफूल, परिकार, र परम्परागत नेवारी परिकारहरू — सहित पूजा गरिएको हो । उनका अनुसार यो पूजा कालभैरवप्रतिको आस्था, शक्ति र संरक्षणको प्रतीकका रूपमा प्रत्येक वर्ष नियमित रूपमा आयोजना गरिँदै आएको छ ।
महर्जनले भने, “यो हाम्रो सांस्कृतिक सम्पदाको गर्व हो, जहाँ पुरातन परम्परा र स्थानीय समुदायको भक्ति मिसिन्छ ।” पूजा कार्यक्रमपछि कालभैरवको दर्शन र प्रसाद वितरण गरिएको थियो, जसले दरबार क्षेत्रमा भक्तजनहरूको घुइँचो लागेको दृश्य झल्काएको थियो ।




