राष्ट्रिय परिचयपत्र भएका नागरिकलाई मतदाता नामावलीमा अब सहजता
२०८२ कार्तिक २७, बिहीबार १७:४१
काठमाडौं कात्तिक २७ बिहीबार , अब राष्ट्रिय परिचयपत्र (National ID) बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन कार्यालय धाउनुपर्ने छैन। निर्वाचन आयोगले आजदेखि लागू हुनेगरी यस्तो नयाँ प्रणाली सुरु गरेको छ, जसअन्तर्गत अनलाइन फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा रहेका सबै विवरण स्वतः मतदाता नामावलीसँग जडान हुनेछन्।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, “नेशनल आइडीको भण्डारमा रहेका नागरिकका बायोमेट्रिक विवरण अनलाइन फारममा भर्ने निवेदनसँगै मिलाएर छानबिन गरी नामावलीमा समावेश गर्ने निर्णय गरिएको छ।”
उनका अनुसार यो निर्णयले नागरिकका लामो समयदेखि उठ्दै आएका मागहरूलाई सम्बोधन गर्नेछ। निर्वाचन आयोगले यो प्रणाली लागू गर्न बुधबार रातभर प्राविधिक तयारी गरेको थियो।
अहिले धेरै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले, आयोगले मतदाता नामावली दर्ता प्रक्रिया झनै सहज र छिटो हुने विश्वास लिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईका भनाइमा, “राष्ट्रिय परिचयपत्र भएका नागरिकले अब फोटो खिच्न, औंठाछाप दिन वा बायोमेट्रिक गर्न कार्यालय आउनु पर्दैन। तर जसको राष्ट्रिय परिचयपत्र छैन, उनीहरूले भने अनलाइन फारम भरेर बायोमेट्रिकका लागि उपस्थित हुनैपर्नेछ।”
सरकारले मतदाता नामावली दर्ताका लागि ३० कात्तिकसम्मको म्याद तोकेको छ। बाँकी तीन दिनभित्र धेरै नागरिकले नाम दर्ता गर्न सकून् भनेर आयोगले यो नयाँ व्यवस्था लागू गरेको हो।




