विराटनगर हुँदै कार्गो रेल सम्पर्क विस्तार गर्ने नेपाल–भारत सम्झौता
२०८२ कार्तिक २७, बिहीबार १९:५९
नयाँ दिल्ली कार्तिक २७ बिहीबार ,भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतीय समकक्षी पियुष गोयलबीचको भेटमा नेपाल–भारतबीच रेल सम्पर्क विस्तार सम्बन्धी ऐतिहासिक सम्झौता भएको छ।
नयाँ सम्झौता अनुसार अब कोलकाता/विशाखापटनमबाट विराटनगर–जोगमनी र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल तथा सडकमार्गमार्फत सबै किसिमका कार्गो ढुवानी गर्न सकिनेछ।
यसअघि यी नाकाबाट केवल चार प्रकारका बल्क सामान मात्र ढुवानी गर्न पाउने व्यवस्था थियो। तर, पारवहन सन्धिको संशोधनपछि अब सबै प्रकारका कार्गो (सामान) ढुवानी गर्न पाइनेछ, जसले नेपालको पारवहन लागत घटाउने र व्यापार सहजीकरणमा ठूलो टेवा पुर्याउने विश्वास लिइएको छ।
मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’को प्रशंसा गर्दै द्विपक्षीय व्यापार, पारवहन व्यवस्था र लगानी प्रवर्द्धनमा अझ सशक्त समन्वय गर्नुपर्नेमा जोड दिए।
त्यस्तै भारतीय मन्त्री गोयलले पनि नेपाललाई विशेष प्राथमिकतामा राखिएको जनाउँदै बाँकी रहेका पारवहन तथा व्यापार सम्बन्धी विषय छिट्टै टुंग्याउने प्रतिवद्धता व्यक्त गरे।
यो सम्झौताले विशेषगरी विराटनगरलाई अन्तर्राष्ट्रिय कार्गो केन्द्रका रूपमा विस्तार गर्ने सम्भावना बढाएको बताइन्छ। यसले पूर्वी नेपालको उद्योग, व्यापार र निर्यात–आयात गतिविधिमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।




