मधेश प्रदेशको विवादित बैठक प्राङ्गणमै बसेर सम्पन्न, सचिवालय अनुपस्थित
२०८२ कार्तिक २९, शनिबार १७:१४
जनकपुरधाम कार्तिक २९ शनिबार , मधेश प्रदेशसभामा देखिएको विवादबीच आजको बैठक अनौठो दृश्यमा सम्पन्न भयो। सभाहलभित्र प्रवेश रोकिएपछि प्रदेश सांसदहरू प्रदेशसभा भवनको प्राङ्गणमै भुइँमा बसेर बैठक सञ्चालनमा जुटे।
उपसभामुख बबिता कुमारी आउनेबित्तिकै सांसदहरूको छेउमै राखिएको कुर्सीमा बसिन्। छेउमा राष्ट्रिय झण्डा, अगाडि टेबल र टेबलमा पनि राष्ट्रिय ध्वजाले औपचारिकता झल्काइरहेको थियो। मोबाइलबाटै राष्ट्रिय धुन बजाइएकाले झट्ट हेर्दा नियमित प्रदेशसभा बैठक चलिरहेको जस्तो माहोल देखिन्थ्यो।
तर पूरा वातावरण औपचारिक भएजस्तो देखिए पनि प्रदेशसभा सचिवालयका कर्मचारी भने उपस्थित थिएनन्। बाहिर सातदलीय गठबन्धनका नेता–कार्यकर्ताहरू सभामुख विरुद्ध नाराबाजी गर्दै थिए। परिसरमा प्रहरीको बाक्लो बसोबासले तनावपूर्ण स्थिति झल्काइरहेको थियो।
बैठकमा सांसदहरूले क्रमैसँग आफ्नो धारणा राखेपछि उपसभामुख बबिता कुमारीले पनि आफ्नो मन्तव्य राख्दै बैठकको समापन गर्नुभयो।
मधेश प्रदेशसभामा चलिरहेको शक्ति–सङ्घर्षले आजको दृश्यलाई अझै रोचक र प्रश्नमूलक बनाएको छ।




