कमला पुल भासिनुको कारण सार्वजनिक: निर्माणमा गम्भीर लापरबाही
२०८२ कार्तिक ३०, आईतवार १६:३६
जनकपुर कार्तिक ३० आइतबार ,महोत्तरीको कमला नदीमाथि निर्माण गरिएको पुल भासिनुको मुख्य कारण निर्माण प्रक्रियामै देखिएको गम्भीर लापरबाही भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगले गरेको स्थलगत निरीक्षण, माटो परीक्षणको पुनःविश्लेषण र पाइलिङ गहिराइ मापनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो।
माटो परीक्षण प्रतिवेदनअनुसार पुलका पिलरलाई स्थिर राख्न ३० मिटर पाइलिङ आवश्यक थियो। तर निर्माण मन्त्रालयले बलान पुलको डिजाइन समायोजन गर्दै कमला पुलका लागि १४.५ मिटर मात्र पाइलिङ स्वीकृत गरेको भेटिएको छ। यतिमै सीमित नभई ठेकेदारले स्वीकृत मापदण्ड पनि पालन नगरी केवल ८ मिटर गहिराइमा मात्र पाइलिङ गाडेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार पाइलिङ गहिराइ अत्यन्त कम भएकोले नदीको बहाव, ढुंगामाटोको धसावट, तथा आवधिक बाढीले पिलर कमजोर बन्दै गएको थियो। समयमै निगरानी र परीक्षण नगरेकाले पुल भासिने अवस्थासम्म पुगेको बताइयो।
अख्तियारले इन्जिनियर, डिजाइन स्वीकृत गर्ने निकाय, र ठेकेदार कम्पनीको भूमिकाका बारेमा छुट्टै प्रतिवेदन तयार पार्दै दोषीमाथि कारबाही प्रक्रिया सुरु गर्ने उल्लेख गरेको छ। आयोगका अधिकारीहरूका अनुसार “पाइलिङमा यस्तो लापरबाही कुनै पनि हालतमा प्राविधिक त्रुटि मात्र नभई नियोजित अवहेलना” हो।
यस घटनापछि स्थानीयवासी र यातायात व्यवसायीले पुलको गुणस्तर जाँच, प्राविधिक मापदण्ड कडाइका साथ पालना र निर्माण प्रक्रियामा पारदर्शिता आवश्यक रहेको माग गरेका छन्।




