काठमाडौं कार्तिक ३० आइतबार , व्यवसायी दुर्गा प्रसाईँले अघि बढाउँदै आएका नागरिक बचाउ महाअभियानले अब औपचारिक रूपमा दल दर्ताको प्रक्रियामा प्रवेश गरेको छ।

आइतबार प्रसाईँका समर्थक तथा नेतृत्व समूह निर्वाचन आयोगमा उपस्थित भई नागरिक बचाउ दल दर्ताका लागि आफ्नो सनाखत गराए। दलको सभापतिमा प्रसाईँ स्वयं नभई अभियानका प्रवक्ता माधव खतिवडालाई प्रस्ताव गरिएको छ।

खतिवडाका अनुसार दल दर्ताको निवेदन कात्तिक २३ मै पेश भइसकेको थियो, र आइतबारको सनाखतपछि प्रक्रिया एक कदम अगाडि बढेको छ। उनले वर्तमान राजनीतिक वातावरणमा धेरै दल जन्मिरहेका भए पनि “नागरिक बचाउ दल जनताको आधारभूत मुद्दामा केन्द्रित भएकाले अलग पहिचान राख्ने” दाबी गरे।

पार्टीले अहिले २९ सदस्यीय प्रारम्भिक समिति गठन गरिसकेको छ र आगामी चुनावमा जनजीवनसँग प्रत्यक्ष जोडिएका एजेन्डा लिएर अघि बढ्ने बताइएको छ।