४ महिनामा सरकारको १ खर्ब ३५ अर्ब घाटा
२०८२ मंसिर १, सोमबार ११:५९
काठमाडौं मंसिर १ साेमवार, चालु आर्थिक वर्षका चार महिनामा सरकारले आम्दानीभन्दा १ खर्ब ३५ अर्ब रुपैयाँ बढी खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारको कुल आम्दानी ३ खर्ब ३३ अर्ब ३४ लाख पुगेको छ भने कुल खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख भएको छ।
सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। तर समीक्षा अवधिसम्म कुल आम्दानी लक्ष्यको २१.७२ प्रतिशत मात्र पुगेको छ।
कर आय २३.१५%, गैरकर आय १२.७३% र अनुदान ६.५३% मा सीमित छ।
खर्चतर्फ संचालन (चालु) र वित्तीय व्यवस्थापन खर्च भने तीव्र गतिमा बढेका छन्।
चार महिनामा
चालु खर्च : ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख
वित्तीय व्यवस्थापन खर्च : १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख
चालु खर्च लक्ष्यको २७.१८% र वित्तीय व्यवस्थापन खर्च ३२.६७% पुगेको छ।
यता, पुँजीगत खर्च सबैभन्दा कमजोर देखिएको छ।
सरकारले लक्ष्य गरेको ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख पुँजीगत बजेटमध्ये चार महिनामा २५ अर्ब ३१ करोड ३४ लाख मात्र खर्च भएको छ, जुन लक्ष्यको ६.२१% हो।
समीक्षा अवधिको तथ्यांकअनुसार राजस्व सुस्त, खर्च तेज र पुँजीगत लगानी न्यून रहेकाले अर्थतन्त्रमा थप दबाब परेको देखिएको छ।




