काठमाडौ मंसिर ३ बुधबार ,वैदिक सनातन परम्पराका गहन, जीवन–संस्कृतिसँग गाँसिएका महत्वपूर्ण पर्वमध्ये बालाचतुर्दशी एक अद्वितीय चाड हो। हरेक वर्ष मंसिर कृष्ण चतुर्दशी को तिथिमा मनाइने यो पर्व मृत्यु, जीवन र मोक्ष–मार्गबारे गम्भीर स्मरण गराउने अध्यात्मिक संस्कारका रूपमा विकसित छ।

हिमवत्खण्ड, नेपाल माहात्म्य र शिवपुराणजस्ता ग्रन्थहरूले यसको उल्लेख गर्दै पशुपतिनाथ क्षेत्रसँग यसको अविच्छिन्न सम्बन्ध चित्रित गरेका छन्। हिमवत्खण्डको ४२औं अध्यायअनुसार, भगवान् शिव मृगरूप धारण गरी जहाँ–जहाँ विचरण, आहार, विश्राम गरे, ती स्थानहरू पुण्यक्षेत्रका रूपमा प्रतिष्ठित भए। त्यही पवित्र वन–क्षेत्रमा सात किसिमका अन्न–बीज (शतबीज) छर्दा एक–एक गेडा अन्न ‘एक तोला सुन दान’ बराबरको पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक जनविश्वास गहिरोसँग जरा गाडेर बसेको छ।

शतबीज छर्ने मूल संस्कार मृत्यु–स्मृतिसँग जोडिएको छ। त्यस वर्ष दिवंगत भएका आत्माको शान्ति, कल्याण र उत्तम गति प्राप्त होस् भन्ने कामनासहित तीन वर्षसम्म शतबीज छर्ने र चौथो वर्ष चर्तुष्ठी होम गर्ने परम्परा आज पनि अविरल बगिरहेको छ।

पुराणिक आख्यानअनुसार, भगवान् शिव मृगरूप धारण गरी श्लेष्मान्तक वनमा तल्लीन भएर विहार गर्न थालेपछि माता पार्वती चिन्तित भइन्। दिव्य दृष्टिद्वारा शिव मृगरूपमा वनमा विचरण गरिरहेछ भन्ने थाहा पाएपछि, पार्वतीले उनका आकर्षणका लागि विभिन्न बीजहरू छरिन्।

 समयपछि ती बीज उम्रिएर हरियो बने, मृगहरू त्यतै आकर्षित भए र देवीले शिवलाई चिन्न सकिन्। यही घटनाक्रम नै आजको शतबीज संस्कारको मूल प्रेरणा हो, जसले प्रकृति, श्रद्धा र पारिवारिक भावनालाई एउटै सूत्रमा बाँधिदिन्छ।

शतबीजमा सामान्यतः गहुँ, सस्र्यू, मकै, जौँ, धान, वयर, अमला लगायतका गेडागुडी र कन्दमूलका टुक्राहरू मिसाइन्छ।

बालाचतुर्दशीको अर्को विशेष आयाम छ—त्रयोदशीको रात पशुपति क्षेत्र, विशेषगरी कैलाश ढुंगामा बालिने दीप–महादीप। विश्वास छ, कुनै कारणले मार्ग नपाई छटपटाइरहेका पितृ–आत्माहरूलाई दीपको प्रकाशले बाटो देखाइ पितृलोकसम्म पुर्‍याउने यात्रा सहज बनाइदिन्छ।

नेपालको धार्मिक–सांस्कृतिक परिवेशमा बालाचतुर्दशी केवल एउटा पर्व होइन— यो जीवन र मृत्युको अन्तरयात्रा, श्रद्धा र शान्तिको सामूहिक भक्ति,
र वंश परम्पराबाट बहिरहेको धार्मिक चेतनाको अविच्छिन्न धारा हो।

यही कारण, सनातन धर्मावलम्बीहरू यसलाई अतुलनीय भक्ति, एकाग्रता र गहिरो आस्थासहित मनाउँदै आएका छन्, मनाइरहने छन्।