बिर्तामोड पुस ८ मंगलबार , कहिले विदेशिने सपना, कहिले जागिरको खोजी—तर बिर्तामोड–७ का प्रदीप खनालले भने आफ्नै बारीमै भविष्य देखे। आज उनी १६ विगा क्षेत्रफलमा फैलिएको तरकारी खेतीबाट वर्षेनी करोडौँको कारोबार गर्दै स्थानीय कृषि आत्मनिर्भरताको उदाहरण बनेका छन्।

बजार नपाइने चिन्ता किसानका लागि सबैभन्दा ठूलो समस्या मानिन्छ। तर खनालका लागि त्यो समस्या रहेन। बिर्तामोड नगरपालिकाले ‘पारीको होइन, बारीको खाउँ’ भन्ने नारासहित सञ्चालनमा ल्याएको तरकारी विक्री केन्द्र उनका उत्पादनको मुख्य आधार बनेको छ।

 नगरपालिकाका ९ विक्री केन्द्रमार्फत उनका तरकारीहरू उपभोक्तासम्म पुगिरहेका छन्।

खनालले आलु, टमाटर, भेडे खोर्सानी, बैगुन, खोर्सानी, काक्रा, लौका, करेला, स्क्वास फर्सी, डल्ले बैगुनलगायतका तरकारी १६ विगामा उत्पादन गर्दै आएका छन्। यससँगै उनले १५ विगा क्षेत्रमा फलफूल खेतीसमेत गरेका छन्।

 स्थानीय फर्सी, कोभी र तोरीजस्ता बालीले उनको बारी झनै हरियो बनाएको छ।

सात वर्षअघि सुरु गरिएको यात्राले अहिले नयाँ मोड लिएको छ। खनाल अहिले तरकारी मात्र होइन, खरबुजा र फर्सीको बीउ उत्पादनसमेत गरिरहेका छन्। जापान पठाउने लक्ष्यसहित एक विगामा बीउ उत्पादन भइरहेको छ, जुन स्थानीय कृषिलाई अन्तर्राष्ट्रिय बजारतर्फ डोर्‍याउने संकेत हो।

खेतीले खनाललाई मात्र होइन, धेरैलाई जोडेको छ। नियमित रूपमा २५ जनाले रोजगारी पाएका छन् भने कामको चाप बढ्दा ५० जनासम्म खेतमै व्यस्त देखिन्छन्। “खेतीले पेट मात्रै होइन, मान्छेलाई आशा पनि दिन्छ,” खनाल भन्छन्।

गत वर्ष मात्रै करिब २ करोड रुपैयाँ बराबरको तरकारी बिक्री भएको उनले बताए। घाटा भएका बालीमा नगरपालिकाबाट ५ लाख रुपैयाँ कृषि राहत पाउनु उनका लागि थप हौसला बनेको छ। बीउ, टनेल, मल्चिङ र सिँचाइमा नगरपालिकाको सहयोगले खेतीलाई थप व्यवस्थित बनाएको छ।

‘हाम्रो कृषि फर्म’मार्फत खनालले बिर्तामोड क्षेत्रमा १२ महिना तरकारी आपूर्ति गर्दै आएका छन्। दैनिक रूपमा बजारमा पुग्ने ताजा तरकारीहरूले उपभोक्ताको भान्सासम्म पुग्दा, खनालको बारीले आत्मनिर्भर कृषिको कथा लेखिरहेको छ।