१ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना खुला

काठमाडौ पुस २४,फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारले सुरक्षा तयारीलाई तीव्र बनाएको छ। यसैक्रममा १ लाख ३३ हजार ९ सय ८० जनाको संख्यामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि–२०८२ अनुसार निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी नियुक्त गरिने भएको हो। इच्छुक नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।

यस भर्नामा पूर्व नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश पाएकासँगै अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरिसकेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ। साथै २०८२ पुससम्म सुरक्षा निकायमा आवेदन दिएका तथा विदेशी फौजमा सेवा गरेका नेपाली नागरिकसमेत प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्।

शारीरिक मापदण्डतर्फ पुरुषका लागि कम्तीमा ५ फिट र महिलाका लागि ४ फिट १० इन्च उचाइ तोकिएको छ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने व्यवस्था गरिएको छ।

नेपाल प्रहरीका अनुसार माघ ९ गतेभित्र छनोट प्रक्रिया सम्पन्न गरी माघ १५ गतेदेखि तालिम सुरु गरिनेछ। निर्वाचन सुरक्षालाई विश्वसनीय र प्रभावकारी बनाउन म्यादी प्रहरी भर्नालाई राज्यले महत्वपूर्ण रणनीतिक कदमका रूपमा लिएको छ।