विराटनगर  पुस २५, शुक्रबार, तराईका अधिकांश भूभागमा पछिल्ला केही सातायता बिहानपख बाक्लो हुस्सु र कुहिरो देखिन थालेको छ । दैनिकजसो कुहिरो लाग्दा सवारी आवागमन, जनजीवन र स्वास्थ्यमा असर परिरहेको छ । चिसो बढ्दै गएपछि स्थानीय तह र सरकारी निकायले चोक–चोकमा आगो बाल्ने व्यवस्था गर्दै दाउरा वितरणसमेत गरिरहेका छन् ।

शुक्रबार बिहान पनि तराईका धेरै स्थानमा न्यून भिजिविलिटी देखिएको छ । नेपालगञ्ज, जनकपुर, विराटनगर र सिमरामा दृश्यता ५० मिटरमा सीमित छ भने चन्द्रगढीमा १०० र धनगढीमा एक हजार मिटर मापन गरिएको छ ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार बिहान बाक्लो कुहिरो देखिए पनि मध्याह्नसम्म मौसम क्रमशः खुल्नेछ । “अहिले भिजिविलिटी कम छ, तर दिउँसोपछि तराईका धेरै स्थानमा घाम लाग्ने सम्भावना छ,” उनी भन्छन् ।

यद्यपि केही हप्तादेखि चिसो बढेको अनुभूति भए पनि यसलाई औपचारिक रूपमा शीतलहर भन्न नमिल्ने मौसमविद्हरूको निष्कर्ष छ । जल तथा मौसम विज्ञान विभागले शीतलहर घोषणा नगर्नुको कारण पनि आवश्यक मापदण्ड पूरा नभएको हो ।

मौसमविद् अधिकारीका अनुसार शीतलहर घोषणा हुन कम्तीमा तीन दिन लगातार दिनभर घाम नलागी कुहिरो लाग्नुपर्ने हुन्छ । साथै न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर पाँच डिग्री सेल्सियसभन्दा कम हुनुपर्छ । तर यो वर्ष त्यस्तो अवस्था नदेखिएको उनी स्पष्ट पार्छन् ।

“बिहान न्यूनतम तापक्रम तीन–चार डिग्री भए पनि दिउँसो घाम लागेपछि १५–१६ डिग्रीभन्दा माथि पुग्छ,” अधिकारी भन्छन्, “यसले तापक्रमको अन्तर बढाउँछ, जुन शीतलहरको अवस्था होइन ।”

अहिले तराईमा देखिएको अवस्था ‘कोल्ड डे’ को श्रेणीमा पर्छ, न कि ‘कोल्ड वेभ’ अर्थात् शीतलहर । शीतलहरको समयमा वायुमण्डलको जलवाष्प जलकणमा परिणत भई दिनभर कुहिरो कायम रहन्छ, जसले सतह नजिकको तापक्रम लामो समयसम्म घटाइराख्छ र जनजीवन गम्भीर रूपमा प्रभावित हुन्छ ।

हालको अवस्था भने बिहानको हुस्सु–कुहिरो र दिउँसोको घामबीच सीमित रहेको मौसमविद्हरूको भनाइ छ ।