अमेरिकी भ्रमण भिसामा धरौटी अनिवार्य
२०८२ पुष २५, शुक्रबार ०९:२०नेपाली नागरिक पनि नयाँ सूचीमा

विराटनगर पुस २५ ,अमेरिका भ्रमण गर्ने नेपाली नागरिकका लागि नयाँ कडाइ लागू हुने भएको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपालसहित केही देशका नागरिकले अमेरिका भ्रमण (बी–१/बी–२) भिसा लिँदा धरौटी रकम बुझाउनुपर्ने भएको हो।
२६ जनवरीदेखि लागू हुने यो व्यवस्थाअनुसार भिसा आवेदकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ। धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा निर्धारण गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
तर धरौटी बुझाउँदैमा भिसा स्वीकृत हुने ग्यारेन्टी भने नहुने स्पष्ट गरिएको छ। निर्धारित समयभित्र अमेरिका भ्रमण गरेर स्वदेश फर्किएमा, वा भिसा अवधि भित्र अमेरिका नपुगेमा धरौटी रकम फिर्ता हुने व्यवस्था छ। भिसा पाएका तर अमेरिका प्रवेश अनुमति नपाएका यात्रुका हकमा पनि धरौटी रकम फिर्ता गरिनेछ।
यो नियम नेपालसँगै बंगलादेश र भुटानका नागरिकका लागि पनि लागू हुनेछ। यसअघि नै अमेरिका ३८ देशका नागरिकका लागि यस्तै धरौटी प्रावधान लागू गरिसकेको छ।
यसैबीच, बी–१/बी–२ भिसावाहक नेपाली नागरिकले अमेरिका प्रवेश र बहिर्गमन गर्न तोकिएका तीनवटा विमानस्थल मात्र प्रयोग गर्नुपर्नेछ। ती विमानस्थलहरूमा बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टनस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्।
यी बाहेकका विमानस्थल प्रयोग गरेर अमेरिका प्रवेश वा बाहिरिन नपाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।




