पाँच लाखभन्दा बढी नगद कारोबारमा कडाइ, राष्ट्र बैंकद्वारा बैंकहरूलाई निर्देशन
२०८२ पुष २५, शुक्रबार २१:०८
काठमाडौं पुस २५, आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा रोक लाग्ने भएको छ। सरकारको निर्णय कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित नगद कारोबारसम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्न इजाजतपत्र प्राप्त सबै संस्थालाई आग्रह गरेको छ। यो व्यवस्था सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत तोकिएको हो।
नयाँ नियमअनुसार अब कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु, सेवा वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत भुक्तानी गर्नुपर्नेछ। चेक, ड्राफ्टजस्ता बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
तर, बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, बचत, विदेशी मुद्रा सटही, बैंक कर्जाको सावाँ–ब्याज भुक्तानी तथा वित्तीय संस्थाबीचको नगद कारोबारमा भने यो सीमा लागू हुने छैन।
यस्तै, स्रोत र प्रयोजन खुलाएर नगद एक स्थानबाट अर्को स्थानमा लैजानुपर्ने अवस्था वा ग्राहकले मनासिब कारणसहित नगद भुक्तानी माग गरेमा बैंकले आवश्यक ठानेमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी दिन सकिने राष्ट्र बैंकले जनाएको छ।
यो व्यवस्था लागू भएसँगै २०७३ चैत १० गते प्रकाशित पुरानो नगद कारोबारसम्बन्धी सूचना स्वतः खारेज हुने भएको छ।




