अब अरूको नाममा रहेको सिम आफ्नै नाममा अनलाइनबाटै दर्ता गर्न सकिने
२०८२ पुष २५, शुक्रबार २१:२२
काठमाडौ , पुस २५, नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि सिम कार्डको स्वामित्व आफ्नै नाममा ल्याउन मिल्ने गरी अनलाइन केवाईसी अद्यावधिक सेवा सुरु गरेको छ।
लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गरिरहेका वा आफ्नो विवरण अद्यावधिक नभएका ग्राहकलाई लक्षित गर्दै टेलिकमले यो सुविधा ल्याएको हो। अब सिम कार्डको स्वामित्व परिवर्तन वा विवरण सच्याउन टेलिकम कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।
टेलिकमले विकास गरेको अनलाइन फारममार्फत घरमै बसेर सिम कार्डको स्वामित्व दाबी गर्न वा केवाईसी अद्यावधिक गर्न सकिने जनाएको छ।
के–के चाहिन्छ ?
अनलाइन फारम भर्न प्रयोगकर्तासँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्रयोग गरिरहेको सिमबाट हालसालै सम्पर्क गरिएका पाँचवटा मोबाइल नम्बरहरूको सूची तथा हालसालै खिचिएको एक प्रति डिजिटल फोटो आवश्यक पर्नेछ। लाइभ फोटो खिच्ने व्यवस्था रहेकाले मोबाइल, ल्यापटप वा वेब क्याम उपलब्ध हुनुपर्ने टेलिकमले जनाएको छ।
किन आवश्यक छ केवाईसी अद्यावधिक ?
आफूले प्रयोग गरिरहेको सिम कार्ड कसको नाममा दर्ता छ भन्ने जानकारी लिन नेपाल टेलिकमका प्रयोगकर्ताले *९२२# डायल गर्न सक्नेछन्। सिम कार्ड आफ्नै नाममा हुँदा मोबाइल बैंकिङ, नागरिक एप, डिजिटल वालेटलगायतका सेवा सुरक्षित हुने र सिम हराए वा बिग्रिएमा वास्तविक मालिकले मात्र नयाँ सिम सहजै प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ।
नेपाल टेलिकमले सबै प्रिपेड प्रयोगकर्तालाई आधिकारिक वेबसाइटमार्फत अनलाइन फारम भरी समयमै केवाईसी अद्यावधिक गर्न आग्रह गरेको छ।
यो लिंकबाट आफूले चलाइरहेको अरुको नामको सिमलाई आफ्नो नाममा सार्नुहोस्




