काठमाडौं, पुस २६ — उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भंग भएपछि गहिरो पीडामा देखिएका छन्। शनिबार बेलुका त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू अत्यन्तै मर्माहित भएको भावुक शब्दमा व्यक्त गरे।

“यस्तो अवस्था आउँछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ,” भन्दै घिसिङले एकता प्रक्रियाबाट आफूहरूलाई जबर्जस्ती बाहिर धकेलिएको आरोप लगाए। परिस्थिति जटिल बने पनि अब एक्लै अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

एकताका लागि आफूहरूले ठूलो त्याग गरेको स्मरण गराउँदै उनले संघीयता र संविधानका विषयमा पूरक सहमति प्रस्ताव गरिएको बताए। “म साधारण सदस्य बन्न पनि तयार थिएँ, समानुपातिक सूची र केन्द्रीय सदस्यमा समायोजनको प्रस्ताव समेत राख्यौँ,” उनले स्पष्ट पारे।

तर, यी सबै प्रयासका बाबजुद रास्वपाले एकतर्फी रूपमा एकता भंगको घोषणा गरेको भन्दै घिसिङले असन्तुष्टि जनाए। उनले यो निर्णयले आफू मात्र होइन, परिवर्तनको अपेक्षा राख्ने समर्थकहरू पनि निराश भएको बताए।