विशेष महाधिवेशन आजदेखि, सबुज बानियाँको अध्यक्षता
२०८२ पुष २७, आईतवार १२:१२
काठमाडौं पुस २७, नेपाली कांग्रेसको दुईदिने विशेष महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ। पुस २७ र २८ गते सञ्चालन हुने महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ।
उद्घाटनअघि बिहान ११ बजेदेखि सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोललगायत स्थानबाट नेता–कार्यकर्ता र्यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन्। उक्त जानकारी विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले दिएका हुन्।
महाधिवेशनका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अट्ने मञ्च तयार गरिएको छ भने सहभागीका लागि ६ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए। कार्यक्रमस्थल कांग्रेसका झण्डा, गेट र ब्यानरले सजाइएको छ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन्। यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन।




