विशेष महाधिवेशनपछि देउवा पक्ष सक्रिय, आफ्नै निवासमा आकस्मिक भेला
२०८२ पुष २७, आईतवार १८:४८
काठमाडौं पुस २७, नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै पार्टीभित्रको शक्ति संघर्ष सतहमा आएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको आकस्मिक भेला बोलाएका छन्।
देउवाले महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि नेताहरूलाई डाकेका हुन्। उक्त भेलामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक सहभागी भइसकेका छन् भने अन्य नेताहरू पनि क्रमशः पुग्दै गरेको देउवानिकट स्रोतले जनाएको छ।
महामन्त्रीद्वयको आह्वानमा सुरु भएको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेको आयोजक पक्षको दाबी छ। विशेष महाधिवेशनमा करिब ६४ प्रतिशत प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको सम्भावना बलियो बन्दै गएपछि देउवा पक्ष रणनीति बनाउन सक्रिय भएको विश्लेषण गरिएको छ। कांग्रेसभित्र शक्ति सन्तुलन र भावी नेतृत्वलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।




