काठमाडौं पुस २७, बलिउड अभिनेत्री सन्नी लियोनी एक रातको सांगीतिक प्रस्तुति सकेर नयाँ दिल्ली फर्किएकी छन्। होटल बाराही (चारतारे)को निमन्त्रणामा हिजो काठमाडौं आइपुगेकी लियोनी आज साँझ भारत प्रस्थान गरेकी हुन्।

लियोनीले हिजो साँझ होटल बाराहीस्थित बादशाह क्यासिनोमा विशेष प्रस्तुति दिएकी थिइन्। ‘लैला मैं लैला’ र ‘मेरा पिया घर आया’ जस्ता चर्चित गीतमा उनले नृत्य प्रस्तुत गर्दा क्यासिनोका भिआइपी पाहुनाहरू उत्साहित देखिएका थिए। कार्यक्रममा नेपाली कोरस नर्तक–नर्तकीहरूले पनि उनलाई साथ दिएका थिए।

एक आकर्षक वान–पिस पहिरनमा देखिएकी लियोनीको प्रस्तुतीले क्यासिनोको माहोल निकै उल्लासमय बनेको सार्वजनिक तस्बिर तथा भिडियोमा देख्न सकिन्छ। क्यासिनो व्यवस्थापनले उनको पारिश्रमिकबारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन।

यसअघि काठमाडौंस्थित हायात होटलमा आयोजित कार्यक्रममा सहभागी हुँदा उनले सवा एक करोड रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलेको थियो।