सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं पुस २८ ,नेपालले सन् २०३५ भित्र विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आईरेना)को महासभामा नेपाली प्रतिनिधिमण्डलले उक्त लक्ष्य प्रस्तुत गरेको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालको ऊर्जा विकास मार्गचित्रअनुसार प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १,५०० किलोवाट–घण्टा पुर्‍याउने र सोही अवधिसम्म १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य रहेको जानकारी गराए। यूएईस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उक्त विवरण उल्लेख गरिएको छ।

आइतबारदेखि सुरु भएको महासभामा विश्वका १७१ देशका १,५०० भन्दा बढी प्रतिनिधि सहभागी छन्। उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भर्चुअल सम्बोधन गरेका थिए।

महासभामा नेपालतर्फबाट यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ। प्रतिनिधिमण्डलमा केन्द्रका कार्यकारी निर्देशक ढकालसहित नेपाली दूतावासका कूटनीतिक अधिकारीहरू रहेका छन्।

कार्यकारी निर्देशक ढकालले नवीकरणीय ऊर्जाका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय स्रोतको परिचालन अपरिहार्य रहेको बताए। उनका अनुसार सन् २०३५ सम्म नेपालको एनडीसी लक्ष्य पूरा गर्न अनुमानित ७३.७४ अर्ब अमेरिकी डलर आवश्यक पर्नेछ, जसको करिब ८५ प्रतिशत अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगबाट जुट्ने अपेक्षा गरिएको छ।

महासभामा क्षेत्रीय ऊर्जा रूपान्तरण, विद्युत् ग्रीड सुदृढीकरण, दीर्घकालीन ऊर्जा योजना, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ता, दिगो उड्डयन इन्धन, कृषि–खाद्य प्रणालीमा नवीकरणीय ऊर्जाको भूमिका तथा हरित औद्योगिकीकरणलगायत विषयमा छलफल भइरहेको छ।

महासभाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई तीव्रता दिने र नवीकरणीय ऊर्जामार्फत दिगो तथा समावेशी समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।