नेतृत्व चयनतर्फ विशेष महाधिवेशन अघि बढेपछि कांग्रेसभित्र तीव्र संवाद
२०८२ पुष २८, सोमबार १८:४१
देउवा–शेखर पक्ष गगन–विश्वसँग सहमतिका प्रयासमा
काठमाडौं पुस २८, नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै पार्टीभित्र संवाद र भेटघाट तीव्र बनेका छन्। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निरन्तर छलफल अघि बढाएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रले सोमबार देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद सकिएको निष्कर्ष निकाल्दै पन्ध्रौं महाधिवेशनसम्मका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यविधि पारित गरेको हो। बहुमत प्रतिनिधिको समर्थनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेपछि शीर्ष नेताहरू सहमतिका लागि सक्रिय भएका छन्।
नेता शेखर कोइरालाले सोमबार बिहान आफ्ना निकटका पदाधिकारी तथा कानुन व्यवसायीसँग परामर्श गरेका थिए। त्यसलगत्तै कोइराला पक्षका नेताहरूले महामन्त्री विश्वप्रकाश शर्मासँग संवाद गरेका थिए। स्रोतका अनुसार विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा सीमित गर्ने वा संकल्प प्रस्ताव पारित गरेर अघि बढ्ने विकल्पबारे छलफल भएको थियो।
एक नेताका अनुसार विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापासँग छलफल गरेर पुनः संवाद गर्ने बताएका छन्। छलफल बन्द सत्र सकिएपछि पुनः अगाडि बढाउने तयारी छ।
त्यसपछि शेखर कोइरालासहितको टोली सभापति देउवालाई भेट्न महाराजगन्ज पुगेको थियो। भेटमा विशेष महाधिवेशन पक्षसँग भएको संवादबारे देउवालाई जानकारी गराइएको थियो। जवाफमा सभापति देउवाले महामन्त्रीद्वयसँग आफूले पनि अलग-अलग माध्यमबाट कुराकानी गरिरहेको बताएका थिए।
शेखर कोइराला पक्षका नेता बद्री पाण्डेले दुवै पक्षसँग संवाद भइरहेको पुष्टि गरे। “पार्टीलाई एकताबद्ध राख्ने साझा बिन्दु खोज्न दिनभर संवाद भयो, तर हालसम्म ठोस सहमति बनेको छैन,” उनले भने।
हाल बन्द सत्रमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल जारी छ। छलफलको निष्कर्षअनुसार नेतृत्व चयनतर्फ जाने वा नीति तथा संकल्प प्रस्ताव पारित गरेर महाधिवेशन टुंग्याउने निर्णय हुनेछ।
यदि नेतृत्व परिवर्तनकै बाटो रोजिएमा विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने र निर्वाचन कार्यक्रम पनि सोही दिन हुने जनाइएको छ।




