काठमाडौं पुस २८, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी तीव्र पारेका छन्। सो क्षेत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ।

बालेनको सचिवालयका अनुसार उनी झापा–५ मा ओलीसँगै प्रत्यक्ष प्रतिस्पर्धा गर्ने रणनीतिमा अघि बढेका छन्। यसका लागि स्थानीय राजनीतिक अवस्था बुझ्ने, मतदाता मनोविज्ञान विश्लेषण गर्ने र मत सर्वेक्षण गर्ने काम भइरहेको छ। सोही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका नेताहरूसँग पनि छलफल गरिरहेका छन्।

आइतबार ललितपुरको ज्वागलस्थित आफ्ना सल्लाहकार कुमार ब्यञ्जनकारको निवासमा बालेनले रास्वपा झापा सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरालगायत नेताहरूसँग भेटवार्ता गरेका थिए। भेटमा झापा–५ को राजनीतिक समीकरण, सम्भावित रणनीति र चुनावी वातावरणबारे छलफल भएको बताइएको छ।

बालेनका सल्लाहकारका अनुसार उनले मेयर पदबाट राजीनामा दिएर केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले आगामी ५ गते मेयर पदबाट राजीनामा दिने र ६ गते झापा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ।

काठमाडौं महानगरको नेतृत्वबाट सिधै प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका बालेनको यो कदमले राष्ट्रिय राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ। ओलीको बलियो पकड रहेको झापा–५ मा बालेनको सम्भावित उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई रोचक बनाउने देखिएको छ।