कालीगण्डकी गाउँपालिकाको नयाँ जनसंख्या नीति

स्याङ्जा पुस २८, जनसङ्ख्या घट्दो क्रममा गएको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि लागू हुने गरी उक्त कार्यक्रम अघि सारेको हो।

गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार पछिल्ला वर्षहरूमा बसाइँसराइ र सन्तान संख्या घट्दै जाँदा गाउँ नै रित्तिने जोखिम बढेको छ। दीर्घकालीन जनसङ्ख्या सन्तुलन कायम राख्न र सन्तानप्रति सकारात्मक सोच विकास गर्न यस्तो नीति ल्याइएको उनले बताए।

“जनसङ्ख्या निरन्तर घट्दै गइरहेको छ, यसलाई समयमै रोकिएन भने भविष्यमा गाउँमा जनशक्ति अभाव देखिन सक्छ,” अध्यक्ष थापाले भने, “त्यसैले परिवारलाई प्रोत्साहन दिने र पोषणमैत्री स्थानीय शासनलाई कार्यान्वयन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौं।”

गाउँपालिकाले ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ स्वीकृत गरिसकेको छ। कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्दै आएका र चालु आर्थिक वर्षको साउनपछि तेस्रो सन्तान जन्माएका परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।

स्वीकृत कार्यविधिअनुसार योग्य परिवारलाई प्रतिमहिना चार हजार रुपैयाँका दरले अधिकतम दुई वर्षसम्म आर्थिक सहायता प्रदान गरिनेछ। यो सहायता सन्तानको पोषण र अभिभावकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने जनाइएको छ।

निवेदन दिँदा निवेदकले नागरिकताको प्रतिलिपि, तीनै सन्तानको जन्मदर्ता, विवाह दर्ता प्रमाणपत्र र बसाइँसराइको हकमा सम्बन्धित कागजात पेश गर्नुपर्नेछ। साथै, तेस्रो सन्तान नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

यस कार्यक्रमबाट सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढ्ने र गाउँमा बसोबास निरन्तर रहने विश्वास गाउँपालिकाले लिएको छ।