फरक ढंगले भित्रिँदै अमेरिकी लगानी श्री एयरलाइन्सले ७० करोड रुपैयाँमा जहाज बिक्री
२०८२ पुष २९, मंगलवार १५:५८
काठमाडौं पुस २९, नेपाली उड्डयन क्षेत्रमा अमेरिकी लगानी नयाँ स्वरूपमा प्रवेश गर्न थालेको संकेत देखिएको छ । प्रत्यक्ष सेयर खरिदभन्दा बाहिर रहेर सम्पत्ति खरिद, वित्तीय पुनर्संरचना र पूँजी व्यवस्थापनमार्फत लगानी अघि बढाइएको छ ।
श्री एयरलाइन्सले हालै ७० करोड रुपैयाँमा बम्बार्डियर सीआरजे–७०० जहाज बिक्री गर्नु र त्यसपछि प्रिमियममा आइपीओ ल्याउने तयारी गर्नुलाई यही नयाँ ढाँचाको उदाहरणका रूपमा हेरिएको छ । जहाज खरिद प्रक्रियामा अमेरिकी पक्षको संलग्नताले परम्परागत ‘इक्विटी इनभेष्टमेन्ट’भन्दा फरक मोडलको अभ्यास सुरु भएको संकेत गरेको छ ।
यस ढाँचामा विदेशी लगानीकर्ता प्रत्यक्ष कम्पनी स्वामित्वमा नआइ एसेट–ब्याक्ड डिल, लिजिङ, फाइनान्सिङ र स्ट्राटेजिक पार्टनरसिपमार्फत बजार प्रवेश गरिरहेका छन् । जोखिम घटाउँदै अवसर खोज्ने अमेरिकी शैलीको यो लगानी मोडललाई नेपाली बजारमा नयाँ ट्रेन्डका रूपमा बुझ्न थालिएको छ ।
विश्लेषकहरूका अनुसार यस्तो संरचनाले कम्पनीलाई तत्काल पूँजी व्यवस्थापनमा राहत दिने र लगानीकर्तालाई दीर्घकालीन प्रवेशको ढोका खुला राख्ने गर्छ । आगामी दिनमा ऊर्जा, उड्डयन र पूर्वाधार क्षेत्रमा पनि यस्तै मोडलमार्फत अमेरिकी पूँजी भित्रिने सम्भावना देखिएको छ ।




