सयभन्दा साना भारु असीमित, २ सय र ५ सय पनि तोकिएको सीमाभित्र
२०८२ पुष २९, मंगलवार १८:२७
काठमाडौं, पुस २९, नेपाल सरकारले भारतीय रुपैयाँ (भारु) ल्याउन–लैजान सम्बन्धी व्यवस्था स्पष्ट गर्दै राजपत्रमा नयाँ सूचना प्रकाशित गरेको छ। सूचना अनुसार नेपाली र भारतीय नागरिकले भारु १ सयभन्दा साना दरका नोट तथा सिक्का असीमित मात्रामा नेपाल–भारत ओहोरदोहोर गर्न पाउने भएका छन्।
यससँगै सरकारले भारु २ सय र ५ सय दरका नोट पनि प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म ल्याउन र लैजान सकिने व्यवस्था औपचारिक रूपमा लागू गरेको हो। यो सुविधा सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका नयाँ नोटमा मात्र लागू हुनेछ।
तर, २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५ सय र १ हजार दरका नोट भने पूर्ण रूपमा प्रतिबन्धित रहने स्पष्ट गरिएको छ।
राजपत्रअनुसार नेपाली र भारतीय नागरिकले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली तथा भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान सक्ने छन्। यद्यपि, भारु १ सयभन्दा ठूला दरका नोट र नेपाली मुद्राको हकमा भने छुट्टै सीमा लागू हुने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नेपाली मुद्रा तथा भारत बाहेक अन्य देशमा भारतीय मुद्रा लैजान वा पठाउन प्रतिबन्ध लगाइएको छ। साथै, इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाबाट कानुनअनुसार प्राप्त विदेशी मुद्रा पनि नेपालबाट बाहिर लैजान पाइने छैन।
विदेशी नागरिकले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी विदेशी मुद्रा लैजानु परे नेपाल प्रवेश गर्दा सो रकम भन्सारमा घोषणा र प्रमाणित गराउनुपर्ने व्यवस्था छ।
सरकारले यो सूचनाको उल्लंघन गरेमा विदेशी मुद्रा जफत हुनुका साथै प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ।




