कला, संस्कृति र प्रविधिमा सहकार्य विस्तार हुने

काठमाडौं पुस ३०, अमेरिकाको कोलोराडो राज्यस्थित ब्रुमफिल्ड सिटी र ललितपुर महानगरपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ। दुवै नगरबीच कला, संस्कृति, प्रविधि आदान–प्रदान तथा आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित साझेदारी सम्झौता भएको हो।

ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ब्रुमफिल्ड सिटीकी मेयर ग्यूलिन कास्त्रियोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रुमफिल्डकी मेयर कास्त्रियोटाले भगिनी सम्बन्ध केवल दुई सहरबीच सीमित नरही नेपाल र अमेरिकाबीचको सम्बन्धलाई समेत सुदृढ बनाउने बताइन्।
‘यो हाम्रो लागि गर्वको विषय हो,’ उनले भनिन्।

ललितपुर महानगरपालिकाका मेयर महर्जनले ब्रुमफिल्डसँगको सहकार्यलाई महत्वपूर्ण कदमको रूपमा वर्णन गर्दै धन्यवाद व्यक्त गरे। उनका अनुसार ब्रुमफिल्ड ललितपुरको तेस्रो भगिनी सहर हो। यसअघि कोरियाको छेयरन र रुसको युलान उडेसँग भगिनी सम्बन्ध स्थापित भइसकेको छ।

कार्यक्रममा ब्रुमफिल्ड सिटीका पदाधिकारी, ललितपुर महानगरका जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो। कार्यक्रममा ललितपुर महानगरको वस्तुस्थिति झल्काउने डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो।

ब्रुमफिल्ड सिटीको यसअघि जापानको उएडा सहरसँग भगिनी सम्बन्ध रहेको छ। सम्झौता हस्ताक्षरपछि दुवै सहरका मेयरहरूले झण्डा तथा स्मृति उपहार आदान–प्रदान गरेका थिए।