मङ्की टोपी, खुकुरी र पेस्तोलसहित एसबिआई बैंक लुट
२०८२ पुष ३०, बुधबार १३:२१३ करोड १० लाख लुटियो, १ करोड ८० लाख बरामद
चार पक्राउ, तीन फरार

सिन्धुली, पुस ३० — सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारस्थित एसबिआई बैंकको शाखामा सशस्त्र समूहले आक्रमण गरी ३ करोड १० लाख रुपैयाँ लुटेको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार रहेका छन्।
पुस २९ गते साँझ मङ्की टोपी लगाएर ६–७ जनाको समूह बैंकभित्र प्रवेश गरेको थियो। सुरक्षा गार्ड रुद्रबहादुर कार्की खाना पकाइरहेका बेला लुटेराहरूले आक्रमण गरेका थिए।
खाना खाएर फर्किएका अन्य तीन कर्मचारीलाई समेत नियन्त्रणमा लिई हातखुट्टा बाँधेर बैंकभित्र थुनेपछि लुटेराहरू नगद लिएर फरार भएका थिए।
सुरक्षा गार्ड कार्कीले प्रतिकार गर्न खोज्दा खुकुरी प्रहारबाट घाइते भएको बताएका छन्। उनका अनुसार दुई जनाले पेस्तोल र चार जनाले खुकुरी देखाएर त्रास देखाएका थिए।
“नबोल भनेर मुख थुने, पेस्तोल देखाए,” कार्कीले बताए।
लुटेराहरू भाग्ने क्रममा फालेको नगदको एउटा बोरा जङ्गलमा फेला परेको छ। स्थानीयको सहयोगमा प्रहरीले हालसम्म १ करोड ८० लाख १० हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार लुटेराहरू बनेपाबाट बा ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरेर आएका थिए। सुमो नियन्त्रणमा लिइएको छ। चालक भगत सिंह थापा सहित चार जनालाई घ्याङलेख–२ क्षेत्रबाट पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। बाँकी तीन जनाको खोजी जारी छ।
घटनाको अनुसन्धान तथा फरार आरोपीहरूको खोजीका लागि एसपी सुवेदीको नेतृत्वमा प्रहरी टोली हायुटार र बस्तीपुर क्षेत्रमा परिचालित छ।




