काठमाडौं, माघ १ , काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले किराँतकालीन राजा हाङ यलम्बरको इतिहासबिनाको काठमाडौं अधुरो हुने बताएका छन्। उनले उपत्यकाको सभ्यता, संस्कृति र पहिचान यलम्बरसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै यसको संरक्षणमा महानगर सधैं प्रतिबद्ध रहने स्पष्ट पारे।

काठमाडौंमा आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर शाहले किराँतकाल नेपाली इतिहासको महत्वपूर्ण अध्याय भएको बताए।

 “काठमाडौं उपत्यकाको सभ्यताको विकासक्रम बुझ्न किराँतकाल र यलम्बरलाई अलग गरेर हेर्न सकिँदैन,” उनले भने, “यलम्बरको इतिहासबिना काठमाडौंको इतिहास अपुरो रहन्छ।”

मेयर शाहले नेपालको मौलिक धर्म, संस्कृति र परम्परालाई नै राष्ट्रिय पहिचानको आधारका रूपमा व्याख्या गरे। उनले पुर्खाले निर्माण गरेको इतिहास र जोगाएको संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताए।

“नेपालको शक्ति विविधताभित्रको एकता हो,” शाहले भने, “महानगर क्षेत्रभित्र रहेका सबै जातजाति, भाषा, संस्कृति र ऐतिहासिक धरोहरको संरक्षण हाम्रो दायित्व हो।”

किराँत सभ्यतासँग सम्बन्धित ऐतिहासिक तथ्यहरूको खोज, अनुसन्धान र संरक्षणमा काठमाडौं महानगरपालिका सधैं तयार रहेको उनले दोहोर्‍याए। साथै, मौलिक पहिचान जोगाउन समुदायस्तरबाट भइरहेको प्रयासको प्रशंसा गर्दै स्थानीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई मेयर शाहले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।