निर्वाचन आयोगलाई देउवा समूहको कडा चेतावनी
२०८२ माघ २, शुक्रबार १६:००चुनाव चिह्न हेरफेर भए देशव्यापी आन्दोलन

काठमाडौं, माघ २ शुक्रबार ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगप्रति कडा चेतावनी दिएको छ। पार्टीको नाम र चुनाव चिह्न गगन थापा पक्षलाई प्रदान गरिए देशव्यापी आन्दोलनमा उत्रिने तयारी रहेको देउवा समूहले स्पष्ट पारेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कुनै पनि हालतमा पार्टीको पहिचानमा हस्तक्षेप गर्न नहुने चेतावनी दिँदै भने, “चुनाव चिह्न र पार्टीको नाममा तलमाथि गरियो भने आन्दोलन हाम्रो बाध्यता हुनेछ।”
उनका अनुसार आन्दोलन केन्द्रसम्म सीमित नरही वडा तहसम्म फैलिनेछ। “हामी वडा–वडासम्म सडकमा आउन नपरोस् भन्ने चाहन्छौं,” खड्काले भने, “तर परिस्थिति जबर्जस्ती बनाइए विकल्प बाँकी रहने छैन।”
देउवा समूहले निर्वाचन आयोगलाई निष्पक्ष र संवैधानिक दायराभित्र रहन आग्रह गर्दै कुनै पनि पक्षलाई लाभ पुग्ने निर्णय अस्वीकार्य हुने चेतावनी दिएको छ।




