निर्वाचन आयोगको निर्णय: कांग्रेसको नेतृत्व अब गगन थापाको नाममा
२०८२ माघ २, शुक्रबार १९:३८
काठमाडौं माघ २ ,नेपाली कांग्रेसको आन्तरिक विवादमा निर्णायक मोड आएको छ। निर्वाचन आयोगले पार्टी सभापतिमा गगन थापाको नेतृत्वलाई औपचारिक मान्यता दिएको छ।
शुक्रबार बसेको आयोगको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोग स्रोतका अनुसार पदाधिकारीहरूको बहुमतले थापा समूहलाई आधिकारिकता दिनुपर्ने निष्कर्ष निकालेका थिए।
बैठकमा सगुन शमशेर जबराले फरक मत राखे पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधर अद्यावधिकको पक्षमा उभिएका थिए।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार आयोगमा अद्यावधिकका लागि निवेदन दिएका थिए। सोही कानुनी आधारमा आयोगले निर्णय गरेको उच्च स्रोतले जनाएको छ।
यस निर्णयसँगै कांग्रेसको नेतृत्व विवाद औपचारिक रूपमा टुंगिएको संकेत मिलेको छ।




