देउवा समूह निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाने
२०८२ माघ ३, शनिबार १२:१०
काठमाडौं माघ ३ शनिबार , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको पछिल्लो निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
शनिबार सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयप्रति गम्भीर असहमति जनाउँदै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आयोगको निर्णय कानुन र निष्पक्षताको मर्मविपरीत रहेको दाबी गरे।
निर्वाचन आयोगले शुक्रबार (माघ २) नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट भएका निर्णयलाई अध्यावधिक गर्दै गगन थापाको नेतृत्वमा गठित केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
देउवा समूहले उक्त निर्णय दूषित मनसायबाट प्रेरित रहेको आरोप लगाउँदै यसले पार्टीलाई गम्भीर क्षति पुर्याउने चेतावनी दिएको छ। महतले अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए।




