नागढुंगा सुरुङमार्ग सञ्चालनमा १० कम्पनीको प्रतिस्पर्धा
२०८२ माघ ३, शनिबार १९:३९
काठमाडौं, माघ ३ शनिबार , नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि १० वटा कम्पनी तथा संयुक्त उपक्रमले आवेदन दिएका छन्। पुस ३० गतेसम्मको म्यादभित्र इच्छुक कम्पनीहरूबाट प्रस्ताव प्राप्त भएको आयोजनाले जनाएको छ।
आवेदन दिनेहरूमा सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र स्वच्छन्द निर्माण सेवा प्रालिको संयुक्त उपक्रम, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेडको जेभी, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभी लगायत छन्।
त्यसैगरी एसएक्सआरबी–ब्राइट बुल जेभी, जेटीसीजी–दान्फे जेभी, बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स जेभी, ईएमएसएल–पीएससीपीएल जेभी, समानान्तर–सीएफएचईसी जेभी, युजिन–एआरटी जेभी तथा वेदान्शी–रांकेन संयुक्त उपक्रम पनि प्रतिस्पर्धामा छन्।
आयोजनाका इन्जिनियर सन्जय पन्थीका अनुसार कम्पनीहरूको प्राविधिक तथा वित्तीय मूल्यांकन प्रक्रिया सुरु गरिनेछ, जसका लागि करिब एक महिनाको समय लाग्नेछ।
यसअघि कात्तिक १६ गते ४५ दिनको म्याद दिएर पहिलोपटक टेन्डर आह्वान गरिए पनि प्रस्ताव नपरेपछि म्याद पुस ३० गतेसम्म थपिएको थियो।




