विराटपाटी संवाददाता ,डडेल्धुरा माघ ६ मंगलबार , नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सातपटक जितेको डडेल्धुरा निर्वाचन क्षेत्रमा यसपटक नैनसिंह महरले टिकट पाएका छन्। देउवाले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले उनको स्थानमा महरलाई उम्मेदवार बनाएको हो।

टिकट पाएपछि महरले ‘देउवाको ऐतिहासिक क्षेत्रमा टिकट पाएको छु, सानदार ढंगले जित्छु’ भन्ने प्रतिक्रिया दिएका छन्। तर राजनीतिक विश्लेषकहरूका अनुसार यो उम्मेदवारी केवल व्यक्तिगत आत्मविश्वासको विषय होइन, कांग्रेसको नेतृत्व पुस्तान्तरणको परीक्षा पनि हो।

डडेल्धुरा देउवाको राजनीतिक किल्लाका रूपमा चिनिँदै आएको क्षेत्र हो। यहाँ उम्मेदवारभन्दा पनि देउवाको प्रभाव निर्णायक मानिँदै आएको छ। त्यसकारण महरको चुनावी सफलता देउवाको संगठन, समर्थन र मतदाता हस्तान्तरण क्षमतासँग प्रत्यक्ष जोडिएको देखिन्छ।

राजनीतिक दृष्टिले कांग्रेसले युवा उम्मेदवार अघि सारेर पार्टीभित्र परिवर्तनको सन्देश दिन खोजे पनि, व्यवहारमा भने देउवाको छायाँबाट बाहिर निस्कन अझै सकेको छैन। नयाँ अनुहार अघि सार्नु अवसर भए पनि करिश्म्याटिक नेतृत्वको अभाव जोखिमका रूपमा देखिएको छ।

विश्लेषकहरू भन्छन्, नैनसिंह महरको उम्मेदवारी व्यक्ति परिवर्तनभन्दा बढी प्रणाली र परम्पराको निरन्तरता हो। यसले कांग्रेस देउवा युगपछि कता जान्छ भन्ने प्रश्नको जवाफ भने चुनावी नतिजाले मात्र दिनेछ।