काठमाडौं  माघ ७ बुधबार ,नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति अब पार्टी केन्द्रीय कार्यालय सानेपाबाटै संगठन र निर्वाचनको कमान्ड सम्हाल्ने तयारीमा जुटेको छ।

 विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व बिहीबार वा शुक्रबार औपचारिक रूपमा सानेपा प्रवेश गर्ने तयारीमा छ।

गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले माघ २ गते नै वैधानिकता दिएको भए पनि आन्तरिक विवाद सर्वोच्च अदालत पुगेका कारण नयाँ नेतृत्वले हालसम्म केन्द्रीय कार्यालय प्रवेश गरेको थिएन।

 यही कारण प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पनि कार्यालयबाहिरै बसेर गरिएको थियो।

तर, मंगलबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नयाँ नेतृत्वका लागि सानेपा प्रवेशको बाटो खुलेको छ। यससँगै सभापति गगन थापा नेतृत्वको केन्द्रीय समिति अब पार्टीको औपचारिक केन्द्रबाटै काम सुरु गर्ने निष्कर्षमा पुगेको हो।

नवनिर्वाचित केन्द्रीय समितिका प्रवक्ता देवराज चालिसेले विवादको अवस्था हुँदाहुँदै पनि संयमता अपनाइएको बताए। “निर्वाचन आयोगको निर्णयपछि नै कार्यालयबाट काम गर्ने अवस्था थियो, तर विवाद सर्वोच्च पुगेपछि द्वन्द्व नबढोस् भनेर बाहिरै बसेर निर्णय गर्‍यौँ,” उनले भने।

उनका अनुसार अहिले केन्द्रीय कार्यालयमा कार्यकक्ष व्यवस्थापन र सरसफाइको काम भइरहेको छ। “सम्भव भए भोलि, नभए पर्सी सानेपा प्रवेश गर्छौं,” उनले जानकारी दिए।

नयाँ नेतृत्वले अब घोषणापत्र निर्माण, प्रचार सामग्री तयारी, उमेदवारलाई प्राविधिक सहयोग तथा तल्लो तहसँग संगठनात्मक समन्वयजस्ता सबै गतिविधि केन्द्रीय कार्यालयबाटै अघि बढाउने जनाएको छ। विशेषगरी निर्वाचन घोषणापत्रलाई प्राथमिकतामा राखेर तत्काल काम सुरु गरिने प्रवक्ता चालिसेको भनाइ छ।

उमेदवार छनोट प्रक्रियामा विगतको तुलनामा असन्तुष्टि कम देखिएको उल्लेख गर्दै उनले बाँकी असन्तुष्टिहरू पनि संवादमार्फत व्यवस्थापन गर्ने तयारी भइरहेको बताए।

सानेपा प्रवेशसँगै कांग्रेसको नयाँ नेतृत्व पूर्ण रूपमा मैदानमा उत्रिने संकेतका रूपमा यसलाई हेरिएको छ।