चाैविस वर्षपछि कोशी टप्पुमा देखियो दुर्लभ ‘रातोटाउके बगेडी’
२०८२ माघ ८, बिहीबार १७:०१
२१ जनवरी २०२६ मा दोस्रो आधिकारिक अभिलेख
विराटनगर माघ ८ विहिबार, विश्वमै दुर्लभ मानिने चरामध्ये एक रातोटाउके बगेडी (Red-headed Lapwing) को नेपालमा २४ वर्षपछि दोस्रोपटक आधिकारिक अभिलेख गरिएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा २१ जनवरी २०२६ (७ माघ २०८२) मा उक्त चराको अवलोकन र फोटो अभिलेख गरिएको हो।
पक्षी अवलोकनमा संलग्न अनुसन्धानकर्ता तथा बर्ड लाइफका स्वयंसेवकहरूले कोशी टप्पु क्षेत्रको आर्द्रभूमिमा उक्त चरालाई देखेर पुष्टि गरेका हुन्। यसअघि नेपालमा यसको पहिलो आधिकारिक अभिलेख सन् २००२ मा मात्र रहेको थियो।
विशेष गरी दक्षिण एसिया र सीमित क्षेत्रमा मात्र पाइने रातोटाउके बगेडीको अचानक पुनः देखिनु नेपालको जैविक विविधता संरक्षणका लागि सकारात्मक संकेत मानिएको छ। चराविद्हरूका अनुसार कोशी टप्पुको आर्द्रभूमि, पानीको सतह र खुला घाँसे मैदान यस प्रजातिका लागि उपयुक्त बासस्थान हो।
बर्ड लाइफ नेपालले यो अभिलेखलाई अत्यन्त महत्वपूर्ण वैज्ञानिक तथ्य भन्दै थप अध्ययन र संरक्षण रणनीति आवश्यक रहेको जनाएको छ। यस घटनाले कोशी टप्पुको अन्तर्राष्ट्रिय महत्व थप उजागर गरेको संरक्षणकर्मीहरूको भनाइ छ।
वन्यजन्तु संरक्षणकर्मीहरूका अनुसार यस्ता दुर्लभ प्रजातिको नियमित निगरानी, बासस्थान संरक्षण र मानवीय हस्तक्षेप न्यूनीकरण गर्न सके भविष्यमा थप महत्वपूर्ण अभिलेख सम्भव हुनेछन्।




