काठमाडौं, माघ ९ शुक्रबार , प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने स्पष्ट पारेकी छन्।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनका क्रममा एक थोपा पनि रगत बग्न नहुने र कोही पनि घाइते हुन नहुने गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन्।

उनले समयसँगै सुरक्षा चुनौतीहरू परिवर्तन हुँदै गएको उल्लेख गर्दै सम्भावित जोखिमको सूक्ष्म अध्ययनसहित उच्च सतर्कता र व्यावसायिकताका साथ काम गर्न सशस्त्र प्रहरी बललाई आग्रह गरिन्।

विगतका निर्वाचनमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिइन्।

प्रधानमन्त्रीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरूले उच्चस्तरीय व्यावसायिकता देखाउने विश्वास व्यक्त गरिन्।