अपहेलित गुणी लट्टे/राम दाना
२०८२ माघ १५, बिहीबार ०९:५७
काठमाडौ माघ १५ ,कहिलेकाहीं भान्सामा लट्टेको साग देखेपछि धेरैको मुखबाट निस्कने एउटा वाक्य हो— ‘धत्, लट्टेको साग पनि कोई खाओस् !’ अर्थात् मनपराएर खाने मानिसको संख्या कम छ।
यो साग पहाड होस् वा तराई जतासुकै पाइन्छ । नछरे पनि खेतबारीमा बढिरहेको हुन्छ । लट्टेको साग जतिसुकै अपहेलित भए पनि यो साह्रै उत्तम साग मध्येमा पर्छ । ‘धेरै भएपछि गुण पनि तीतो’ भएको मात्र हो ।
अहिलेसम्म हरियो र रातो गरी दुई खालको लट्टे देखिएको छ । यसको वैज्ञानिक नाम ‘अमेरेन्थस विरडिस’ हो । यसमा स्वाद र पौष्टिकता दुवै र उत्तिकै छ ।
मेक्सिकोमा लट्टेलाई ‘अलेग्रिया’ भनिंदोरहेछ । स्पेनिस भाषामा अलेग्रियाको अर्थ ‘खुशी’ हो । लट्टे अफ्रिका, चीन, भारत, रूस, अमेरिका लगायत धेरै देशमा पाइन्छ ।
मेक्सिकोमा भने लट्टेका दानाबाट विभिन्न परिकार बनाइन्छ । त्यहाँ मकै जस्तै भुटेर महसँग मिसाएर पनि खाइँदो रहेछ । अन्य धेरै देशमा यसबाट बनेका विभिन्न परिकार कुप्लुक्क खान मिल्ने गरी बिक्री गर्न राखिएका हुन्छन्।
विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन।
गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिंदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मनपराएर खानेहरू प्रशस्तै छन्।
नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’ । मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्।
विशेषगरी पहाडी क्षेत्रमा हजूरआमाहरू लगातार व्रत बस्नुपर्यो भने बीचमा एक दिन बेलुका लट्टेका दाना दूधमा पकाएर खाने गर्थे। पौष्टिकताले भरिपूर्ण भएकैले व्रत बसेका वेला यसको उपयोग भएको हुनुपर्छ।
लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ । लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ । तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ।
लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र क्याल्सियम आदि यसमा छन् ।
लट्टेका दानामा २८.८ प्रतिशत प्रोटिन हुन्छ । कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ । अर्थात् शिशु, महिला, गर्भवती सबैको लागि अति उपयोगी छ ।
लट्टेका दाना र पातको मुख्य विशेषता भनेकै यो जेसँग मिसाएर पकाउँदा पनि हुन्छ । यसको दाना चामल, फापर वा गहुँको पीठो आदिसँग मिसाएर उपयोग गर्न सकिन्छ । खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।
(डा अरूणा उप्रेतीकाे निजी विचार हुन् )




