भारतको आर्थिक सर्वेक्षण सार्वजनिक
२०८२ माघ १५, बिहीबार २२:०१जीडीपी वृद्धि ६.८–७.२ प्रतिशत, साढे ८ लाख रोजगारी थपियो

नयाँ दिल्ली माघ १५ , भारतीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभामा आर्थिक सर्वेक्षण पेस गरेकी छन्। सर्वेक्षणअनुसार आगामी आर्थिक वर्ष २०२६–२७ मा भारतको जीडीपी वृद्धिदर ६.८ देखि ७.२ प्रतिशत रहने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा विकास दर ७.४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। राम्रो कृषि उत्पादनका कारण मुद्रास्फीति ४ प्रतिशत वरपर सीमित रहने प्रक्षेपण गरिएको छ।
रोजगारीतर्फ वित्त वर्ष २०२६ को दोस्रो त्रैमासिकमा ८ लाख ७० हजार नयाँ रोजगारी थपिएको छ। अप्रिल–डिसेम्बर २०२५ मा वस्तु निर्यात २.४ प्रतिशत र सेवा निर्यात ६.५ प्रतिशतले बढेको सर्वेक्षणले जनाएको छ।
भारतको विदेशी मुद्रा भण्डार बढेर ७०१ अर्ब डलर पुगेको छ भने कृषि क्षेत्रमा ३.१ प्रतिशत वृद्धिको अपेक्षा गरिएको छ।




