काठमाडौ माघ १६ , पछिल्ला दुई महिनामा फ्रान्स, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड र बेलायतका नेताहरू बेइजिङ पुगे। विशेषज्ञ डा. स्टुअर्ट रोलोकाका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पका आक्रामक ट्यारिफ नीतिहरूले पश्चिमी देशहरूलाई चीनसँग आर्थिक र कूटनीतिक सम्बन्ध मजबुत गर्न बाध्य पारेको छ।

ट्रम्पको नीति, विशेष गरी नेटोमाथिको प्रश्न, ग्रीनल्यान्ड कब्जा चेतावनी र गठबन्धनको उपेक्षाले युरोपेली विश्वासमा दरार ल्याएको छ। यसले पश्चिमी देशहरूलाई चीनसँग सम्बन्ध ‘रिसेट’ गर्न प्रेरित गरेको छ। बेलायतले नयाँ चिनियाँ दूतावास अनुमति दिएको छ भने क्यानडा–चीनले रणनीतिक साझेदारी घोषणा गरेका छन्।

जर्मनी, फ्रान्स जस्ता देशमा अमेरिकी ट्यारिफ र व्यापार अनिश्चितताले मन्दी र वित्तीय दबाब बढाएको छ। जर्मनीको कमजोर अर्थतन्त्र र कार उद्योगमा दबाबले चान्सलर मर्जलाई चीन भ्रमणमा लगेको हो। चीन जर्मन कार उद्योगको ठूलो बजार भएकाले व्यापार र लगानीको बाटो खुला राख्न आवश्यक छ।

पश्चिम–चीन नजिकिनु केवल आर्थिक आवश्यकतामा मात्र होइन, अमेरिका र यूरोपबीच कमजोर हुँदै गएको विश्वास र कूटनीतिक सन्तुलनको परिप्रेक्ष्यमा पनि देखिन्छ।