न्युयोर्क माघ २७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)को प्रमुखका लागि केभिन वार्शलाई रोज्ने संकेत गरेपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा ठूलो उतार–चढाव आएको छ । वार्शलाई ‘हकिस’ (कठोर मौद्रिक नीति समर्थक) व्यक्तित्वका रूपमा हेरिने भएकाले सुन, चाँदीसहित बहुमूल्य धातुको मूल्य तीव्र रूपमा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विदेशी समाचार माध्यम मनीकन्ट्रोल र फोर्ब्सका अनुसार वार्शको नाम सार्वजनिक भएपछि सुनको मूल्य करिब १२ प्रतिशत र चाँदीको मूल्य ३० प्रतिशतभन्दा बढी घटेको छ । यससँगै सुन र चाँदी बजारबाट झण्डै ५ ट्रिलियन अमेरिकी डलर बराबरको मूल्य नष्ट भएको उल्लेख गरिएको छ ।

विश्लेषकहरूका अनुसार वार्श फेड प्रमुख बनेमा ब्याजदर लामो समयसम्म उच्च रहन सक्ने अपेक्षा गरिएको छ । ब्याजदर उच्च रहँदा अमेरिकी डलर बलियो हुने र सुनजस्ता ब्याज नदिने सम्पत्तिमा लगानीको आकर्षण घट्ने भएकाले लगानीकर्ताहरूले ठूलो मात्रामा सुन बेच्न थालेका हुन् ।

यद्यपि केही अर्थविद्हरूले वार्शलाई पूर्ण रूपमा हकिस मात्रै नभई व्यावहारिक दृष्टिकोण राख्ने व्यक्ति पनि हुन सक्ने बताएका छन् । उनीहरूको तर्क छ— बजारले अत्यधिक डरका कारण आवश्यकभन्दा बढी प्रतिक्रिया दिएको हुन सक्छ ।

यस घटनाको प्रभाव अन्य सम्पत्ति बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय सेयर बजार, क्रिप्टोकरन्सी र औद्योगिक धातुहरूमा समेत गिरावट देखिएको छ ।

विश्लेषकहरूको निष्कर्षमा, हालको गिरावट आंशिक रूपमा ‘कर्रेक्सन’ (बजार सुधार) पनि हो, किनकि पछिल्लो समय सुनको मूल्य अत्यधिक उचाइमा पुगेको थियो । दीर्घकालीन रूपमा सुनको दिशा फेडको आगामी नीति, महँगीको अवस्था र विश्व अर्थतन्त्रको गतिमा निर्भर रहने उनीहरूको भनाइ छ ।