‘नयाँ सबै असल, पुराना सबै खराब’ भन्ने सोच : लोकतन्त्रका लागि खतरनाक अतिवाद , उम्मेदवारलाई सोधौं : सपना बाँड्छौ कि, विपनामा काम गर्छौ ?
२०८२ माघ २८, बुधबार २२:११
काठमाडौ माघ २८,नेपाली राजनीति आज जटिल माेडमा रहेको छ । जनतामा निराशा छ, आक्रोश छ, र आशा पनि छ। यही मनोविज्ञानको बीचमा पछिल्लो समय एउटा सरल तर भ्रमपूर्ण निष्कर्ष फैलिँदै गएको छ
“नयाँ अनुहार आए सबै ठीक हुन्छ, पुराना सबै असफल भइसके। तर राजनीति यति सतही विषय होइन। नयाँ हुनु आफैंमा योग्यता होइन, र पुरानो हुनु आफैंमा अयोग्यता पनि होइन। ‘नयाँ सबै असल, पुराना सबै खराब’ भन्ने सोच आफैंमा लोकतन्त्रलाई कमजोर बनाउने खतरनाक अतिवाद हो”” भनेर राजनीतिक विश्लेषक दर्शन राज न्याैपानेले वताए ।
राजनीतिक असफलताको जड व्यक्ति मात्र होइन, प्रणाली, कार्यशैली र राजनीतिक संस्कारमा गहिरो गरी गाडिएको छ। यदि नयाँ अनुहारले पनि पुरानै सोच, पुरानै शैली र स्वार्थमुखी राजनीति बोकेर प्रवेश गर्छ भने, परिवर्तन केवल नारामा सीमित हुन्छ।
आज सामाजिक सञ्जाल र मञ्चहरूमा परिवर्तनका ठूला सपना सुनिन्छन्। आकर्षक भाषण गरिन्छ। तर मतदाताले अब ताली बजाउने मात्र होइन, प्रश्न सोध्ने साहस गर्नुपर्छ—
तिम्रो कार्यक्रम के हो?
पाँच वर्षमा के–के परिवर्तन गर्छौ?
त्यो काम गर्न स्रोत कहाँबाट आउँछ?
तिमी सपना बाँड्न आएका हौ कि, विपनामा काम गर्न?
यिनै प्रश्नको जवाफ दिने क्षमता नभएका उम्मेदवार चाहे नयाँ हुन् वा पुराना, दुवै असफल हुन तय छन्।
यसका साथै, सबै पुराना नेताहरू असफल छन् भन्ने निष्कर्ष पनि अन्यायपूर्ण छ। देशका धेरै ठाउँमा अनुभवी जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारीजस्ता क्षेत्रमा ठोस काम गरेका उदाहरण छन्। अनुभव, संस्थागत ज्ञान र नेटवर्क पनि नेतृत्वका महत्वपूर्ण पूँजी हुन्।
लोकतन्त्र भावनामा होइन, विवेकमा टिक्छ। नारा, भीड र आकर्षक शब्दभन्दा माथि उठेर कार्ययोजना, क्षमता, इमान्दारी र विगतको कार्यसम्पादनको आधारमा मतदान गर्ने संस्कार विकास गर्नु आजको ऐतिहासिक आवश्यकता हो।
अन्ततः परिवर्तन अनुहार फेरिँदा मात्र होइन, सोच फेरिँदा आउँछ। संस्कार फेरिँदा आउँछ। कार्यशैली फेरिँदा आउँछ।
त्यसैले अब हामी सबैले एउटै प्रश्न दोहोर्याऔं
उम्मेदवारलाई सोधौं : सपना बाँड्छौ कि, विपनामा काम गर्छौ ?




