नेपालको भान्साघरमा शताब्दीयौँदेखि बल, स्वास्थ्य र सन्तुलनको प्रतीक बनेको दालभात आज फेरि नयाँ अर्थमा फर्किँदैछ । यो केवल संस्कृति होइन, अब चिकित्सकीय समाधान बन्न थालेको छ ।

पश्चिमी शैलीका जंकफुड, चिनी र बोसोले भरिएका प्रशोधित खानेकुराको बढ्दो उपभोगसँगै नेपालमा टाइप–२ मधुमेह भयावह रूपमा बढिरहेको छ । ४० वर्षमाथिका प्रत्येक पाँचमध्ये एक जनामा मधुमेह देखिनु सामान्य बन्दै गएको छ । तर, आशाको खबर पनि छ—हाम्रै परम्परागत भोजनले यो प्रवृत्तिलाई उल्ट्याउन सक्छ ।

काठमाडौं र आसपासका क्षेत्रमा गरिएको पाइलट अध्ययनले देखाएको छ कि क्यालोरी–नियन्त्रित परम्परागत आहार (दालभात, दही, फलफूल) अपनाउँदा करिब ४३ प्रतिशत बिरामीमा मधुमेह नियन्त्रण वा उल्टिने सम्भावना देखिएको छ ।

यस अनुसन्धानमा अग्रसर रहेको टोलीमा University of Glasgow का मधुमेह तथा मानव पोषण विशेषज्ञ प्रोफेसर माइक लिन छन् । उनको टोलीले Dhulikhel Hospital सँग सहकार्य गर्दै चारवर्षे अध्ययन अघि बढाइरहेको छ ।

लिन भन्छन्, “यो रकेट साइन्स होइन । सही खानेकुरा, सही मात्रा र अनुशासन नै औषधिभन्दा शक्तिशाली बन्न सक्छ ।” ८ हप्तासम्म प्रतिदिन करिब ८५० क्यालोरीबिहान दही र फलफूल ,मुख्य खानामा दालभात, सेतो चामलको सट्टा खैरो चामल ,जंकफुड, मिठाई, सफ्ट ड्रिंक्सबाट टाढा

यसपछि तौल मेन्टेन गर्ने चरणमा उही भोजन अलि बढी क्यालोरीमा जारी गरिन्छ ।

२०२५ को एक अध्ययनअनुसार काठमाडौंका पसलमा पाइने ८७ प्रतिशत प्याकेज खानाले World Health Organization ले सिफारिस गरेको चिनी, बोसो र नुनको सीमा नाघेका छन् । यही प्रवृत्तिले मधुमेह, मुटुरोग र मिर्गौला समस्यालाई तीव्र बनाइरहेको छ ।

एसियाली मूलका मानिस आनुवंशिक रूपमा मधुमेहको जोखिममा बढी हुन्छन् । तर, सकारात्मक पक्ष के भने—थोरै तौल घटाउँदा पनि मधुमेह उल्टिने सम्भावना उच्च हुन्छ ।

यस विषयमा प्रकाशित आलेख The Guardian की स्वास्थ्य संवाददाता क्याट लेको लेखमा आधारित छ, जसको नेपाली अनुवाद सुभाष शर्माले गरेका हुन् ।

 नेपालको स्वास्थ्य भविष्य कुनै महँगो औषधिमा होइन, हाम्रै भान्सामा लुकेको छ ।
दालभात, अनुशासन र सचेत जीवनशैली—यी तीन कुराले मिलेर मधुमेह महामारीलाई थाम्न सक्छन् ।
कहिलेकाहीँ, सबैभन्दा आधुनिक समाधान सबैभन्दा पुरानो परम्परा नै हुन्छ ।