हिमाल–पहाडमा आज, तराईमा भोलि होली
२०८२ फाल्गुन १८, सोमबार ०७:५३
धार्मिक आस्था र सामाजिक सद्भावको रंगीन सन्देश
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) आज हिमाली तथा पहाडी जिल्लामा उल्लासपूर्वक मनाइँदै छ भने तराई क्षेत्रमा भोलि मनाइनेछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्वले प्रकृति र मानवबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।
होलीको जड त्रेतायुगको कथासँग जोडिएको छ। दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई नष्ट गर्न आगोले नछुने वरदान पाएकी होलिकालाई प्रयोग गर्दा होलिका स्वयं भष्म भइन्, तर भक्त प्रह्लाद सुरक्षित रहे। यस घटनाले सत्य र भक्ति अन्ततः विजयी हुने सन्देश दिन्छ।
त्यसैगरी द्वापरयुगमा श्रीकृष्णलाई मार्न पठाइएकी पुतना असफल भई नष्ट भएको प्रसंग पनि फागु पर्वसँग जोडिएको छ। यसले अधर्ममाथि धर्मको विजयलाई पुनः स्मरण गराउँछ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा चिर गाड्ने र पूर्णिमाको दिन विधिपूर्वक ढालेर टुँडिखेलमा दहन गर्ने परम्परा धार्मिक आस्था र सांस्कृतिक निरन्तरताको प्रतीक हो। चिरको खरानी टीका लगाउने र ध्वजापताका घरमा राख्ने चलनलाई अनिष्ट निवारणको विश्वाससँग जोडिन्छ
होली केवल धार्मिक पर्व मात्र होइन, सामाजिक सद्भावको उत्सव पनि हो।
रङ र अबिरले आपसी मनमुटाव बिर्साएर मेलमिलाप, भाइचारा र समानताको भावना जागृत गराउँछ।
पछिल्ला वर्षहरूमा सुरक्षाको सजगताले होली सभ्य र मर्यादित बन्दै गएको छ। इच्छा विपरीत रङ दल्ने वा लोला हान्ने जस्ता गतिविधि घट्दै गएका छन्, जसले समाजमा सकारात्मक परिवर्तनको संकेत दिएको छ।
परम्परागत रूपमा प्राकृतिक रङ र अबिर प्रयोग गर्दा छालासम्बन्धी रोग कम हुने र शीतकालीन कफजन्य समस्या न्यून हुने विश्वास आयुर्वेदले पनि व्यक्त गरेको छ। चिर दहनबाट निस्कने धुवाँले वातावरण शुद्धीकरणमा सहयोग गर्ने जनविश्वास छ।
होलीले हामीलाई सम्झाउँछ—
अहंकार होइन, प्रेम; द्वेष होइन, सद्भाव; हिंसा होइन, सहिष्णुता नै जीवनको साँचो रंग हो।
रङहरू जति फरक भए पनि भावना एउटै हो—
एकता, उल्लास र आत्मीयता




